अनाम शर्मा
काठमाडौं, १ फागुन ।
रवि लामिछाने जुन गतिमा झण्डै झण्डै सत्ताको शीर्ष स्थानमा पुगे, त्यति गतिमा सडकमा आइपुगे । भ्रष्टाचार गरेर वा सत्ता र शक्तिको दुरुपयोग गरेर उनी सडकमा आइपुगेका भने होइनन् । एउटा स्वार्थी समूहले प्रक्रियागत त्रुटिलाई समाएर कानुनको सहारा लिँदै उनलाई सत्ता र शक्तिभन्दा बाहिर पुर्याइएको हो । उनी सत्ता र शक्तिमा रहिरहँदा जो जसलाई अप्ठ्यारो परेको थियो, उनीहरूकै मिलिभगतमा षडयन्त्रको तानाबाना बुनियो । राजनीतिको छलकपट नबुझेका रवि त्यसै जालमा परे ।
सर्वोच्च अदालतले रविलाई दोषी करार गरिसकेपछि उनी दोषी नै प्रमाणित भए, यो विवादको कुरा नै भएन । सर्वोच्चको फैसलालाई रवि स्वयमले पनि तत्कालै स्वागत गरे र परिपालना पनि गरे । तर विवाद यस कुरामा रह्यो कि जो जसले रविलाई घिसारेर अदालतको ढोकासम्म लगे, उनीहरूले तीभन्दा सङ्गिन आरोप र मुद्दा भएकाहरूलाई चाहिँ किन अनदेखाझैं गरे त ? के उनीहरूका लागि रवि मात्र घाँटीमा अड्किएको हड्डी बनेका थिए ? अरूहरूबाट चाहिँ संविधानको भावना, मर्म र विधि मिचिएको थिएन ? समयले जवाफ मागिरहकोे छ ।
वेथिति र अनियमितताको चाङ लागेका देशमा एउटा सानो प्रक्रियागत त्रुटि भएकै कारण प्राप्त उपलब्धि र उचाइ एकैचाटि स्वाहा होला भनेर त रवि स्वयम्ले पनि पूर्वअनुमान गरेका थिएनन् होला तर भयो त्यस्तै । उपप्रधानमन्त्री, गृहमन्त्री, सांसद पदलगायतबाट एकैचोटि बाहिरिनुपरेको अवस्थामा आयोजित पत्रकार सम्मेलनमा रवि केही आक्रोसित मुद्रामा रहेको स्वयमले स्वीकार गरेका छन्, जुन स्वाभाविक पनि थियो । अहिले रविलाई नैतिकताको पाठ सिकाउनेहरू रविको ठाउँमा भएको भए उनीहरूले झन बढी ताण्डव देखाउने थिए होलान् । उपदेश दिनु सबैभन्दा सजिलो विषय हो ।
पत्रकार सम्मेलनमा रविले उठाएका केही गम्भीर विषयले समाज तरङ्गित बनेको छ । विशेष गरी मिडिया र मिडिया सञ्चालकसँग जोडिएका विषयका कारण मूलधारका मानिएका मिडियाउपर धेरैले आसङ्का र जिज्ञासाका नजरहरूले हेरेका छन् । केही व्यक्तिहरूले रवि पनि पूर्व पत्रकार भएकाले अहिले राजनीतिमा आउनेबित्तिकै त्यसो भन्नु नहुने थियो भनेका छन् भने धेरैले रविको हिम्मतलाई सलाम गरेका छन् । केही मिडियाले नेपालमा स्वेत आतङ्क नै मच्चाएकोमा रविले उनीहरूको मखुण्डो खोलिदिएको भनेर उनको कार्यको खुलेर प्रशंसा गरेका छन् ।
रविले जम्माजम्मी गरेको अपराध
संसारकै सुविधासम्पन्न देशमा रामैै्र कमाइ गर्दैगरेका रवि आफ्नै देशमा केही गर्छु भनेर नेपाल फर्के । अमेरिकामा रहँदा लिएको अमेरिकन नागरिकता पनि त्यागे र त्यागेको प्रमाण पनि लिए । उनले अमेरिकन नागरिकता त्यागेको प्रमाण नबुझेर वा आवश्यकता नठानेर सरोकारवाला कार्यालयलाई बुझाएनन् । बस् उनले गरेको जम्माजम्मी अपराध यत्ति हो ।
उनले न आर्थिक, सामाजिक वा राजनैतिक कुनै अपराध गरेका छन् वा न कुनै स्वार्थ समूहसँग मिलेर मुलुकलाई अहित हुने केही गरेका छन् । उनले त राजनीतिमा लागेर देश र समाज परवर्तनका लागि केही गर्न सकिन्छ कि भनेर आफूलाई राजनीतिमा होमिदिए । उनले गरेको अर्को अपराध हो यो ।
सञ्चारकर्मीका रूपमा रहँदा उनले गरेका कर्म र निडर व्यक्तित्व देखेका स्वार्थ समूहको रवि गृहमन्त्री बनेपछि सात्तोपुत्लो गयो । अब रविले कसैलाई पनि छाड्दैन भन्ने ठानेपछि त्यो समूहले रविलाई नै सिध्याउने षडयन्त्रका तानावाना बुन्न थाल्यो । त्यसक्रममा रविले हेलचेक्याइँबस् गर्न भूलेको नागरिकतासम्बन्धी प्रक्रियागत त्रुटि नै रविलाई सिध्याउने गलपासो बन्न पुग्यो ।
रविले मिडियालाई किन लाञ्छित गरे ?
नेपालमा भारतलगायत अमेरिका, क्यानाडा, अस्ट्रेलिया, युरोपियन मुलुकहरूको दोहोरो नागरिकता र पासपोर्ट हुने नेपालीहरू कति होलान् ? दोहोरो नागरिकता भएका भनिएर चर्चामा आएका केही चर्चित व्यक्तिहरू समेत पटक पटक नेपाली राजनीतिको शीर्ष स्थानमा पुगेका छन्, उनीहरूमाथि न छानविन भयो न कसैले अदालतमा मुद्दा नै हाल्यो । मूलधारका भनिएका मिडियाहरूमा कहिलेकाहीँ सानो मसिनो समाचार आए पनि जोडदार रूपमा उक्त मुद्दा उठाइएन । तिनै मिडियाहरूमा रविको प्रक्रियागत त्रुटिको समाचारलाई चाहिँ लगातारजस्तै व्यानर न्युज बनाएर हरेक दिनजसो आइरह्योे । मानौं रवि अन्तर्राष्ट्रिय स्तरका अपराधी नै हुन् र उनले जस्तो सङ्गिन अपराध नेपालमा अरू कसैले गरेका छैनन् । उनलाई यथाशीघ्र तह लगाउनु पर्छ ।
नियोजित रूपमा कसैलाई भित्तामा पुर्याउने कोसिस गरिन्छ भने उसले पनि प्रतिकार गर्छ नै । रविको पत्रकार सम्मेलन पनि क्रियाको प्रतिक्रिया मात्र थियो । उनलाई सडकछाप बनाउन हात धोएरै लागिपर्ने मिडिया सञ्चालक र सम्पादकहरू १२ जनाको नामै लिएर रविले चुनौती दिएपछि उनीहरू सामाजिक सञ्जालमा ‘१२ भाइ’ का नामबाट चर्चित हुन पुगे । त्यसदिनपछि १२ भाइमध्ये केहीको मिडियाका आडमा गरेका काला कर्तुतहरू सामाजिक सञ्जालमा छरपष्ट भइसकेका छन् र निकट भविष्यमा अरूको पनि आउन सक्छन् ।
पत्रकार सम्मेलनमा रविले सर्वोच्चको फैसलालाई स्वागत गरेका छन् । मात्र उनले आफूलाई ठूलै अपराधीजस्तो गरेर लगातार समाचार सम्प्रेषण गर्ने मिडियाकर्मीहरूसँग मात्र रोष प्रकट गर्दै उनीहरूले गरेको गलत कार्यको भने भण्डाफोर गरेका छन् । यस घटनाले धेरैको मनमा पराकम्पन गइरहेको हुनसक्छ । शीशाको घरमा बस्नेले अरूलाई ढुङ्गा हान्दा क्षति आफ्नै हुने हो र त्यस्तै भयो पनि ।
चौथो अङ्गको आत्मसमीक्षा
पुराणमा वर्णित भष्मासुरले आफ्नो शक्तिको दुरुपयोग गर्न खोज्दा आफैं भष्म हुन पुगे । धेरै अहम्ता कसैलाई शोभा दिने विषय होइन । अतः राज्यको चौथो अङ्गले पनि आफ्नो मान, मर्यादा र विश्वसनीयतालाई बचाउने हो भने निर्मम भएर आत्मसमीक्षा गर्न ढिलो गर्नु हुन्न । फोहर आफ्नो अनुहारमा लागेको थियो तर सफा चाहिँ ऐनालाई गरिरहेका त छैनौं ?
रवि सम्भावना हुन्
रवि वर्तमान नेपालका आशालाग्दा व्यक्तित्व र सम्भावनाका भण्डार हुन् । नेपाली राजनीतिमा उनको शानदार उपस्थिति थोरैका लागि आँखाका कसिँगर भए पनि धेरैका लागि आशा र भरोसाका केन्द्र हुन् । नेपाली राजनीतिबाट रवि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, गगन र विश्वप्रकाश जस्ता खम्बालाई झिकिदिने हो भने नेपाली राजनीति घर कसको सहारामा उभिन्छ होला त ? अरू सबै त ढोडका तक्मा मात्र हुन् ।
तर वैशाख १० गते हुने भनिएको चितवन–२ को उपनिर्वाचनमा रविलाई उठ्न नदिन ठूलो चलखेल भइरहेका कुरा सामाजिक सञ्जालबाट बाहिरिएका छन् । उनका पखेटा नबाँध्ने हो भने उनी पुनः अत्याधिक मत ल्याएर विजयी हुनेछन् । यदि पासपोर्टको लफडा निकालेर रविलाई रोक्ने प्रयास भयो भने त्यो न मुलुकको हितमा हुनेछ न मुलुकबासीको । रवि उनी आफ्नै लागि भन्दा पनि मुलुकको समृद्धिका लागि चाहिने व्यक्तित्व हुन् ।