माधव नेपालले एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ भनेपछि…

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको बताएका छन् । आज (बुधबार) समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुने भन्दै राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताए । उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने प्रष्ट पारे ।



‘लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ; अध्यक्ष नेपालले भने । सबैलाई मान्य हुने राष्ट्रपति चुन्न सकिन्छ कि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाग्नुभएको छ हेरौँ त्यो प्रयास सफल हुन्छ कि हुँदैन । उनले राष्ट्रपतिको चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धनमा खटपट समेत सुरु भएको बताए ।

उनले भने ‘देशमा राजनीतिक तरलता देखिएको छ, राजनीतिक अवस्था कता जाने हो हेर्दै जाऔँ ।’ त्यस्तै अध्यक्ष नेपालले आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने स्पष्ट पार्दै कम्युनिष्टबीच एकता गरी बलियो मोर्चा बनाउन आफ्नो विप्लव नेतृत्वको नेकपा लागयतका विभिन्न नेता तथा पार्टीसँग कुराकानी भइरहेको पनि जानकारी दिए ।

सम्बन्धित समाचार