नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।
बुधबार राति ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लागिएको छ । आज (बिहीबार) दिउँसो नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिएको हो ।
उनलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लागिएको हो । बुधबार राति ग्याँस सिलिण्डर विस्फोट घाइते भएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहँदा अस्पतालले आज एक विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको थियो ।
उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि उपचार टोलीमा रहेका छन् ।
निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।