साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

साउदी अरबको जेलमा रहेका धनकुटाका दिनेश कार्कीका परिवारले उद्धारको पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई भेट्दै उनले कार्कीलाई नेपाल ल्याउन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सरकार सबैभन्दा बढी संवेदनशील रहेको बताए । ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो’, प्रधानमन्त्री दाहालले भने ।



उनले भने, ‘वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पूँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध छ ।’ धनकुटाको चौबिसे गाउँपालिका–४ निवासी कार्की दुई वर्षअघि ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा साउदी जेलमा रहेका छन् ।

सम्बन्धित समाचार