नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ ।
एमालेले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेको हुने बताउँदै आएको छ भने प्रधानमन्त्री प्रचण्डले सकभर राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । राष्ट्रपतिमा कांग्रेसले पनि दाबी गरेको छ । यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ ।
आगामी फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भएको छ । त्यस्तै निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।