राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मतदाता सूची

निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता सूची सार्वजनिक गरेको छ । आज (बुधबार) राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले नामावली सूची प्रकाशन गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सूची प्रकाशन गरेको छ । दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । जसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ । मतदाता नामावली दाबी विरोधको उजुरीमाथि फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यातालिका रहेको आयोगले जनाएको ।



त्यस्तै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुँदैछ । संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ ।

 

सम्बन्धित समाचार