नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुबीच बसेको बैठक सकिएको छ । आज (शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठक बसेको हो ।
करिब चार घण्टा बसेको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । उनले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् । उनले विभिन्न प्रस्तावहरु आएकोले पुन: साँझ ५ बजे बैठक बसेर साझा टुंगोमा पुग्ने बताए ।
‘बैठकमा विभिन्न प्रस्तावबारे छलफल भएको छ । अब आ -आफ्ना दलमा छलफल गरेर साँझ ५ बजे पुनः अर्को बैठक बसरेर राष्ट्रपति टुंगोमा पुग्छौं’ थापाले भने, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’
बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी थिए । यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।