नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ फागुन ।
नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शनिबार) बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको छ ।
यसअघि शुक्रबार साँझ बसेको कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीकोसंयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका रहेको छ ।