सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शनिबार) ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।



त्यस्तै आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् ।शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि शुक्रबार साँझ बसेको कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीकोसंयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार