नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन् । आज (शनिबार) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।
शनिबार बिहान बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने रसमर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । त्यस्तै पार्टीले सरकारलाई दिएको पनि समर्थन फिर्ता लिँदै सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
राप्रपाबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।