नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।
नेकपा एमाले सरकारबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज (सोमबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । ।
बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । प्रधानमन्त्री दाहालले नेकपा एमाले र एमालेले प्रतिनिधित्व गरेका मन्त्रीहरूप्रति गरेको व्यवहार र टिप्पणीका कारण आफूहरू सरकारबाट बाहिरिन बाध्य भएको बताए । सरकारलाई समर्थन गर्ने सोच रहेपनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरुका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेको उपाध्यक्ष विष्णु पौडेलले बताए ।
‘राष्ट्रपतिको निर्वाचनमा सहमति नभए पनि सरकारलाई सहयोग गरेर काम गर्ने सोचमा हामी थियौँ । तर पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले नेकपा एमाले र एमालेबाट प्रतिनिधित्व गर्नु भएको मन्त्रीप्रति गरेको अभिव्यक्ति र व्यवहारले गर्दा हामी सरकार छाड्ने निर्णयमा पुग्यौँ ’पौडेलले भने ।