नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।
नेकपा (एकीकृत समजावादी) का अध्यक्ष एवं पूर्व माधवकुमार नेपाल र नेकपा (एमाले)बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । आज (बिहीबार) नेम्वाङसहित एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका थिए ।
भेटका क्रममा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गरेको जनाइएको छ । उम्मेदवार नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र डा विमला राई पौड्याल सहभागी हुनुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
त्यस्तै एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नेताहरुले नेम्वाङको पक्षमा मत मागेको भन्दै अध्यक्षले धन्यवाद दिनुभएको बताए । ‘राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको प्रतिनिधि मण्डलले हाम्रो पार्टीका नेताहरूसँग भेट गर्दै राष्ट्रपतिमा मतदान गर्न आग्रह गर्नुभयो’, खतिवडाले भने, ‘राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक र सर्मथक भएकाले सहयोग गर्न सकिने अवस्था छैन ।’