नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ फागुन ।
यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी (पीएनजी)ले नेपाल सामू जितको लागि १८० रनको लक्ष्य प्रस्तित गरेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुँदै १७९ रनमा समेटिएको थियो । पीएनजीका लागि टोनी उराले ३९ रन बनाए भने हिरी हिरीले ३१ रन जोडे । त्यस्तै किप्लीन डोरीगा २६ रन बनाई आउट भए भने गौडी टोकाले १५, नर्मन भानुवाले १४ र सेसे बाउ र कप्तान असद भालाले समान ११-११ रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान २-२ विकेट लिए भने सन्दीप लामिछाने, कुशल मल्ल र करण केसीको भागमा समान १-१ विकेट रह्यो । जारी सिरिजमा दुवै टोलीको यो तेस्रो खेल हो । नेपालले पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।
यता पपुवा न्यु गिनीभने पहिलो खेलमा नेपालसँग पराजित भएको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेको थोयो । नेपाल ३० खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकसहित छैटौं स्थानमा छ भने ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोडेको पीएनजी पुछारमा रहेको छ । अब नेपालले चौथों तथा अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोलीसँग खेल्नेछ ।