रामचन्द्र पौडेलले भोट माग्दै सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेखेपछि…

नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेखेका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उहाँले आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा सातै प्रदेशका प्रदेशसभा सदस्यलाई पत्र पठाएका हुन् ।



‘नेपालका सबै मानिसको नैसङ्र्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउँदै आए । फलतः निर्दलीय निरङ्कुुश सत्तासँग म अलिकति पनि झुकिन र पञ्चायतको ३० वर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ । बहुदलीय व्यवस्थाको पुनरागमन पछिका सत्ताका दिनमा पनि कही कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोसिस गर्दै आएको छु’, उनले पत्रमा उल्लेख गरेका छन् ।

शान्ति वार्ताको क्रममा होस् वा संविधान निर्माण क्रममा होस् नेपाली जनताको मानवअधिकार, स्वतन्त्रता, दीगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई आफ्नो लक्ष्य र उद्देश्य बनाउँदै आएको पूर्वसभामुख पौडेलको भनाइ छ ।

आफू नेपालको वास्तविकतामा आधारित विकासको नमूना (मोडेल) अपनाउनुपर्छ भन्ने ठानेको गरेको उल्लेख गर्दै उनले बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार गाउँगाउँमा पुगिसक्दा पनि त्यहाँबाट बसाइ सर्ने क्रम नरोकिएको र देशबाटै प्रतिभा र जनशक्तिको पलायन बढ्दै गएको अवस्थामा गाउँ गाउँमै रोजगारी र आम्दानीको अवस्था कसरी सिर्जना गर्ने भनेर चिन्तित रहेको बताएका छन् ।

राजनीतिक विचारधाराको द्वन्द्वमा अल्मलिन नपरोस् भनेर समाजवादको सार ‘निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुन सक्छ भनेर अपिल गर्दै नेता पौडेलले नेपाली जनतामा खुसियाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र सुशासन हो भन्ने आफ्नो अटल विश्वास रहेको उल्लेख गरेका छन् ।

सबै धर्म, संस्कृति, जात, वर्ग, लिङ्ग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारको रुपमा उपस्थित भएको बताउँदै उनले नेपाली जनताका प्रिय प्रतिनिधिको सबैको अमूल्य मतको अपेक्षा गरेको उल्लेख गरेका छन् ।रासस

सम्बन्धित समाचार