नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ फागुन ।
नेपालमा आज (बुधबार) सुनको मूल्य १००० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ५०० रहेकोमा मंगलबार रु १ लाख २ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार रहेकामा मंगलबार प्रतितोला रु १ लाख २ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको तुलनामा ४० रुपैयाँ घट्दै एक हजार २२५ मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २६५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले गत बिहीबार रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजारमा कारोबार भएको थियो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो ।