नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी, कति मत ल्याए ?

नेपाली कांग्रेसका वरिष्ठ नेता एव पूर्व सभामुख रामचन्द्र पौडेल संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । आज (बिहिबार) भएको निर्वाचनमा उनी नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले राष्ट्रपतिका अर्का उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् । मतदानमा पौडेलले ३३ हजार ८०२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।



पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो भने नेम्वाङलाई एमालेको मात्र साथ थियो ।

निर्वाचनमा ३१३ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।

त्यसै गरी कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा र फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् । राष्ट्रपति पदको मतदानका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानका लागि नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

सम्बन्धित समाचार