अनाम शर्मा
काठमाडौं, २८ फागुन ।
आम नेपालीको ठूलो आशा र अपेक्षाका बीच रामचन्द्र पौडेलले गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति हुने सौभाग्य पाएका छन् । अघिल्ला दुई राष्ट्रपति विवादबाट मुक्त हुन सकेनन् । जनता चाहन्छन्– राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलबाट हिजोका गल्ती नदोहोरिउन् । उनी पनि विवादमुक्त हुन सकेनन् भने गणतन्त्रको जग नै हल्लिन सक्छ र गणतन्त्रविरोधी शक्तिहरूले शिर उठाउने ठाउँ पाउन सक्छन् । पौडेललाई एउटा आदर्श राष्ट्रपतिका रूपमा आम नेपाली जनताले हेर्न चाहेका छन् । पौडेलले इच्छाशक्ति देखाउन सके भने उनी उदाहरणीय बन्न सक्नेछन् ।
हुन त यादव, भण्डारीजस्तै पौडेल पनि एक राजनैतिक व्यक्तित्व हुन् । जुन पार्टीले पौडेललाई उम्मेदवार बनायो, त्यस पार्टीप्रति विगतमा झैं निर्णायक घडीमा केही लचिलो बन्ने स्वभाव देखाए भने राष्ट्रपति पदको गरिमा र औचित्यमाथि नै बहस आरम्भ हुन सक्छ । विशिष्ट योगदान गर्ने गैह्रराजनीतिक व्यक्तिलाई पनि राष्ट्रपति बनाउन सकिने सोचको विकास नभएसम्म पाँच वर्षपछि आउने राष्ट्रपति पनि राजनैतिक व्यक्ति नै हुनेछ । आजै सुसंस्कार र मानक कायम गर्न सकियो भने भोलिका लागि सकारात्मक नजिर स्थापित हुन सक्नेछ । त्यसैले राजनैतिक व्यक्ति राष्ट्रपति हुनु आफैंमा नराम्रो कुरा होइन तर निजले पदीय गरिमालाई कति न्याय गर्न सक्छन् वा निजले आफूलाई सर्वस्वीकार्य अभिभावक बनाउन सक्छन् कि सक्तैनन् भन्ने कुराले अहम् माने राख्दछ । पौडेलमाथि मार्ग र मानक दुबै बनाउनुपर्ने चुनौती छ ।
गणतन्त्रको प्रत्यक्ष सम्बन्ध राष्ट्रपतीय पद्दतिसँग हुन्छ । गणतान्त्रिक देशका राष्ट्रपतिले हिजोका राजा महाराजाजस्तो तामझाम, विलासी जीवन शैली र राजसी ठाँट देखाए भने आम जनताले राजा र राष्ट्रपतिका बीच खास्सै भेद पाउने छैनन् । अझ राष्ट्रपति कार्यकारी भूमिकाप्रति मोहित भए भने यसले संवैधानिक शङ्कट पैदा गर्नेछ र मुलुक द्वैध शासनको गोल चक्करमा फँस्नेछ । यस्तो अवस्था सिर्जना भयो भने गणतन्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्न सक्छ, जुन वर्तमान संविधानले परिकल्पना नगरेको विषय हो । दोस्रो कार्यकालमा राष्ट्रपति भण्डारीले देखाएको राजसी ठाँट मुख्य आलोचनाको विषय बन्यो । संवैधानिक सीमा र मर्यादाका कुराहरू त आम मानिसहरूले कमै बुझ्ने विषयहरू हुन् । आम मानिसहरूले त मिडियामा आएका समाचार हेरेर वा पढेर मात्र आफ्नो धारणा बनाउने हुन् ।
संवैधानिक राष्ट्रपतिका निश्चित सीमा र मर्यादा हुन्छ । जनताले पनि संवैधानिक राष्ट्रपतिबाट असीमित आकाङ्क्षा राखेका हुँदैनन् । विगतको राजनैतिक आबद्धतालाई थाती राखेर नयाँ राष्ट्रपतिले राष्ट्रपतिजस्तो मात्र भए पुग्छ । उम्मेदवारी दिँदै गर्दा गरेका वाचा तथा बचनलाई भुलेर जितिसकेपछि निरङ्कुश शासकजस्तो तामझामको मोहमा रमाए भने पौडेलको पनि राजनैतिक त्याग र अनुभवको खास्सै अर्थ रहने छैन र भनिनेछ– जुन जोगी आए पनि कानै चिरेको !
तर, रामचन्द्र पौडेलको सार्वजनिक जीवन त्यति जटिल र विलासी देखिँदैन । उनको सरल र सादगी जीवनले राष्ट्रपति पदको गरिमा र महत्वलाई एउटा उचाइमा पुर्याउन सक्नुपर्छ । लामो राजनीतिक जीवनको उत्तरार्धमा पुरस्कार स्वरूप प्राप्त राष्ट्रपति पदलाई उनले न्याय गर्न सके भने यो उनको लागि मात्र होइन, सिङ्गो देशका लागि गौरव र गर्वको विषय हुनेछ ।