नवकान्तिपुर संवाददाता
काठमाडौं, १ चैत ।
नेपाली कांग्रेस आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज (बुधबार) पार्टी कार्यालय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा नेपालका नेता यादवलाई मत दिने निर्णय गरेको हो । उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते हुँदैछ ।
त्यस्तै बैठकले गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनाका साथै उनलाई मतदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । यसैगरी बैठकले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न पत्राचार गर्ने निर्णय गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।