नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ चैत ।
उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव विजयी भएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।
शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उनी सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी भएका हुन् । यादवको कूल मतभार संघमा १४ हजार ५३६ र प्रदेशतर्फ १५ हजार ७९२ सहित ३० हजार ३२८ रहेको छ ।
उनी सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका थिए । बारा–२ बाट प्रतिनिधिसभाका सदस्यसमेत रहेका यादव जनता समाजवादी पार्टीका संसदीय दलका नेता पनि हुन् ।
यादवका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले सङ्घमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गरेकी थिइन् ।