नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ चैत ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ८ हजार २०० रहेकोमा बुधबार रु १ लाख ८ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार ७०० रहेकामा बुधबार प्रतितोला रु १ लाख ८ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बुधबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ३७५ कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३६५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले गत आइतबार (चैत ५) गते रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ९ हजार ५०० मा कारोबार भएको थियो ।