ओलीले राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ भनेपछि…

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताएका छन् । बुधबार अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको प्रथम महाधिवेशनको वीरगञ्जमा उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताउनुभयो । ओलीले भने, ‘राष्ट्रिय गानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ । तर अहिलेको हाम्रो राष्ट्रियगानमा शब्द सुरु हुनुअघि धुन राखिएको छ, त्यो ठीक छैन, त्यसलाई सच्याएर शब्दको धुनबाट सुरु गर्नुपर्छ, त्यो सच्याउन सरकारसँग आग्रह गर्दछु ।’



कार्यक्रममा उनले सामाजिक न्यायका लागि ओबिसी महासङ्घको अगुवाइमा हुने सामाजिक अभियानमा आफ्नो पार्टीको भरपुर सहयोग रहने भन्दै सामाजिक कुरीति र विकृति हटाउन सामाजिक अभियान चलाउनुपर्नेमा जोड दिए।

उनले आफ्नो पार्टीको लक्ष्य गरिबी अन्त्य गरी समृद्ध बनाउने दाबी गरे । ओबिसी महासङ्घको महाधिवेशन बिहीबार सकिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार