आईपीएलमा कोलकत्ता र हैदराबाद विजयी

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबाद विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा कोलकत्ताले गुजरात टाईटन्सलाई ३ विकेटले र हैदराबादले पंकाब किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । गुजरातका लागि विजय शंकरले ६३ र साई सुदर्शनले ५३ रन्को अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै शुभमन गिल ३९ रन बनाई आउट भए भने ऋद्धिमान शाहले १७ रन जोडे। कोलकत्ताका लागि सुनिल नारिनले ३ विकेट लिए भने सुयश शर्माको भागमा १ विकेट रह्यो ।



कोलकत्ता नाइट राइडर्स

२०५ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकत्ताले अन्तिम बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो । कोलकत्ताका लागि वेंकटेस अय्यरले ८३ रनको अर्धशतकीय पारी खेले भने नितिश राणाले ४५ रन बनाए । यी दुईले तेस्रो विकेटका लागि १०० रनको शतकीय साझेदारी गरेका थिए ।

अन्तिम ओभरमा लगातार ५ छक्का प्रहार गर्दै रिंकु सिंहले उत्कृष्ट ब्याटिङ गर्दै कोलकत्तालाई जित दिलाएका हुन् । उनी ४५ रनमा अविजित रहे । गुजरातका लागि कप्तान राशिद खानले ह्याट्रिक सहित ३ विकेट लिए । राशिदले १७औं ओभरमा ह्याट्रिक गरेका हुन् । उनले १७ औं ओभरको पहिलो बलमा आन्द्रे रसेललाई, दोस्रो बलमा सुनिल नारिनलाई र तेस्रो बलमा शार्दुल ठाकुरलाई आउट गरेका थिए ।

गुजरात

यस्तै अल्जारी जोसेफले २ विकेट लिए भने मोहम्मद सामी र जोस लिटिलको भागमा समान १-१ विकेट रह्यो । जितसँगै कोलकत्ता ३ खेलमा ४ अंकका साथ जोड्दै दोस्रो स्थानमा छ भने समान खेलमा ४ अंक जोडेको गुजरात चौथो स्थानमा रहेको छ ।

त्यसैगरी आईपीएल अनतर्गत नी आइतबर भएको दोस्रो खेलमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

हैदराबाद

हैदराबादको घरेलु मैदान राजीव गान्धी स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन बनायो । पन्जाबका कप्तान शिखर धवनले अर्धशतकीय पारी खेल्दै ९९ रनमा अविजित रहे भने साम करनले २२ जोड्नु बाहेक पन्जाबका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

हैदराबादका लागि मयंक मारकन्डेले ४ विकेट लिए भने उमरान मलिक, मार्को यानसनले समान २-२ विकेट लिँदा भुवनेश्वर कुमारको भागमा १ विकेट रह्यो । १४४ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदराबादले १७ दशमलब १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

हैदराबादको लागि राहुल त्रिपाठीले अविजित रहँदै ७४ रनको अर्धशतकीय पारी खेले। यस्तै कप्तान एडेन माक्ररम ३७ रनमा नटआउट रहे । यी दुईले तेस्रो विकेटका लागि अविजित रहँदै १०० रनको शतकीय साझेदारी गरेका थिए । त्यस्तै मयंक अग्रवाल २१ रन बनाई आउट भए भने ह्यारी ब्रुकले १३ रन जोडे ।

पन्जाब

जितसँगै हैदराबाद ३ खेलमा २ अंकका साथ आठौं स्थानमा छ भने समान खेलमा २ जित सहित ४ अंक जोडेको पन्जाब छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज एक खेल हुनेछ । आज हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जाइन्ट्स भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुनेछ ।

 

 

सम्बन्धित समाचार