नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । सोमबार राति भएको खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलोरलाई १ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा लखनउको यो तेस्रो जित हो भने बैंगलोरको लगातर दोस्रो हार हो । बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१२ रन बनाएको थियो । घरेलु टोलीका लागि कप्तान फाफ डु प्लेसिस ७९, विराट कोहलीले ६१ र ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय पारी खेले ।
उत्कृष्ट सुरुवात गरेको बैंगलोरका लागि कप्तान फाफ र कोहलीले पहिलो विकेटका लागि ९६ रनको अर्धशतकीय साझेदारी गरेका थिए भने दोस्रो विकेटको लागि फाफ र म्याक्सवेललेअविजित रहँदै ११५ रनको शतकीय साझेदारी गरेका थिए । लखनउका लागि मार्क उड र अमित मिश्राले समान १-१ विकेट लिए ।
२१३ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको लागि मार्कस स्टोइनिसले ६५ र निकोलस पुरनले ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आयुष बदोनीले ३० रन जोड्दा कप्तान केएल राहुल १८ रन बनाए । बैंगलोरका लागि मोहम्मद शिराज र वायन पार्नेलले समान ३-३ लिए भने हर्षल पटेलको भागमा २ विकेट रह्यो ।
लगातार तेस्रो जित हार पारेको लखनउ ४ खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने ३ खेलमा २ अंक जोडेको बैंगलोर सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज एक खेल हुने छन् । आजको खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दै छन् ।उक्त खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुनेछ ।