टीआरसी विधेयकमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भयो यस्तो सहमति

प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । आज (मंगलबार) बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकमा दलहरुबीच यस्तो सहमति भएको हो ।

टीआरसी लगायतका सम्बन्धित विधेयकका विषय र प्रक्रियामा पुनः छलफल गर्ने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।सो विधेयकलाई अगाडि बढाउने, सदनलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेको संयोजनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्षनेता छलफलमा जुटेका हुन् ।



शीर्षनेताहरु सङ्घीय संसद्का संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुङ्गो लगाउन सहमत भएको सभामुखको सचिवालयले जनाएको छ । शीर्ष नेताहरूको अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकको कन्टेन्ट र प्रक्रियाबारे छलफल गर्न सकिने तर यसलाई छिटै टुङ्ग्याउनुपर्ने धारणा राखेका थिए ।

त्यसैगरी, बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता थियो ।

सम्बन्धित समाचार