नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।

बैतडीमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । मंगलबार राति जयपृथ्वी राजमार्गअन्तर्गत खड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजे बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।
जिपमा १२ जना सवार रहेकोमा ५ जना यात्रुहरूले भने हाम फालेर ज्यान बचाएका छन् । जिप चालक फरार रहेका छन् । जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

