नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० चैत ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा राजस्थान रोयल्स विजयी भएको छ । बुधबार राति भएको खेलमा राजस्थानले चेन्नाइ सुपर किंग्समाथि ३ रनको रोमाञ्चक जित हात पारेको हो ।
जारी प्रतियोगितामा राजस्थानको यो तेस्रो जित हो भने चेन्नाईको दोस्रो हार । चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जोस बटलरले ५२ रनको अर्धशतकीय पारी खेले भने देवदत्त पडिकलले ३८ रन बनाए । त्यस्तै रविचन्द्रन आश्विन ३० रन बनाई आउट भए भने शिमरन हेटमायर ३० रनमा अविजित रहे ।
चेन्नाईका लागि तुशार देशपान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २-२ विकेट लिए भने मोईन अलिको भागमा १ विकेट रह्यो । १७६ रनको लिएय मैदान उत्रेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन मात्र बनायो । चेन्नाईका लागि ओपनर डेभोन कन्वेले ५० रनको अर्धशतकीय पारी खेले भने अजिक्का राहानेले ३१ रन बनाए । त्यस्तै कप्तान महेन्द्र सिंह धोनी ३२ र रविन्द्र जडेजा २५ रनमा अविजित रहे ।
राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २-२ विकेट लिए भने सन्दीप शर्मा र एडम जाम्पाको भागमा समान १-१ विकेट रह्यो । जितसँगै चौथो खेलमा तेस्रो जित हात पारेको राजस्थान ६ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ भने चौथो खेलमा ४ अंक जोडेको चेन्नाई पाँचौ स्थानमा रहेको छ ।