नवकान्तिपुर संवाददाता
काठमाडौं, २ बैशाख ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको आमामाथि गोली प्रहार भएको छ । बालुवाटारस्थित निजी घरमा बस्दी आएकी पुनकी ७४ वर्षीय आमा तीर्थमाली पुन मगरमाथि गए राति १० बजेतिर गोली प्रहार भएको हो ।
प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । प्रहरीका अनुसार भीआइपी सुरक्षामा खटिएका प्रहरी सहायक हवलदार प्रकाश पुनले गोली चलाएका हुन् । हवल्दार पुन वर्षमानका नातेदार पनि हुन् ।
कामु प्रधानन्यायाधीशको सुरक्षा टिममा कार्यरत उनी ड्यूटी सकेर बालुवाटार पुगेका थिए । गोली लागि घाइते भएकी वर्षमानकी आमाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको छ । गोली प्रहार गर्ने प्रहरीका सहायक हवल्दार पुनलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।
गोली प्रहार गरेलगत्तै भागेका पुनलाई प्रहरीले उनको कोठाबाट पक्राउ गरेको थियो । तीर्थमाली नातामा प्रकाशकी हजुरआमा हुन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।