नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोर र पन्जाब किङ्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई २३ रनले र दोस्रो खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा बैंगलोरको यो दिस्रो जित हो भने दिल्लीको लगातार पाँचौं हार । बैंगलोरको घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । घरेलु तोलीकॉ लागि विराट कोहलीले ५० रनको अर्धशतकीय पारी खेले भने महिपाल लुमरोले २६ रन बनाए ।
त्यस्तै ग्लेन म्याक्सवेल २४ रन बनाई आउट भए भने कप्तान फाफ डु प्लेसिस २२ र शाहबाज अहमद २० र अनुज रावत १५ रनमा अविजित रहे । दिल्लीका लागि मिचेल मार्श र कुलदिप यादवले समान २-२ विकेट लिए भने अक्षर पटेल र ललित यादवको भागमा समान १-१ विकेट रह्यो ।
१७५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मनिश पान्डेले ५० रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै एनरिक नोर्किया २३ रनमा अविजित रहँदा अक्षर पटेलले २१, कप्तान डेबिड वार्नरले १९ र अमन खानले १८ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
बैंगलोरका लागि विजयकुमार वैशखले ३ विकेट लिए भने मोहम्मद सिराजले २ विकेट लिँदा हर्षल पटेल, वानिन्दु हसरंगा र वायन पार्नेलको भागमा समान १-१ विकेट रह्यो । जितसँगै बैंगलोर ४ खेलमा २ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ भने लगातार पाँचौं खेलमा पराजित दिल्ली अंकबिहिन रहँदै पुछारमा रहेको छ ।
त्यसैगरी आईपीएल अन्तर्गत नै शनिबार भएको अर्को खेलमा पन्जाब किङ्सले तेस्रो जित निकाल्ने क्रममा लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको छ ।
लखनउको घरेलु मैदान भरत रत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले ७४ रनको अर्धशतकीय पारी खेले भने केली मेयर्सले २९ रन बनाए । त्यस्तै कुर्नाल पान्डया १८ र मार्कुस स्टोनिसले १५ रन जोडे ।
पन्जाबका लागि साम करणले ३ विकेट लिए भने कागिसो राबडाले २ विकेट लिँदा अर्शदीप सिंह, सिकन्दर राजा र हर्पित बारको भागमा समान १-१ विकेट रह्यो । १६० रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
पन्जाबको लागि सिकन्दर राजाले ५७ अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । यस्ता म्याथ्यु सर्टले ३४ रन बनाई आउट भए भने शाहरुख खान २३ रनमा अविजित रहँदा हर्पित सिंहले २२ रन जोडे । लखनउका लागि मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले समान २-२ विकेट लिए ।
जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोड्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ भने समान खेलमा ६ अंक नै जोडेको लखनउ रनरेटमा अघि रहँदै दोस्रो स्थानमा रहेको छ ।