नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ बैशाख ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । रौतहट, चपुर नगरपालिका-१ बाग्मती पुल पछाडी सर्लाही बागमतीस्थित बाल बाटिका बोर्डिङ्ग स्कुलका शिक्षक ६५ वर्षीय नवाङ लामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धनकुटा, साँगुरीगढी गाउँपालिका-७ लेकवालास्थित बाटोनजिक सोही गाउँपालिका-६ स्थित हिलटप होटलमा काम गर्ने चितवन कालिका नगरपालिका-८ जुटपानी घर भएका ४० वर्षीय कमल बिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै दोलखा, बैतेश्वर गाउँपालिका-३ बस्ने ९२ वर्षीय कृष्ण बहादुर बस्नेत सोही ठाउँस्थित गोपीखोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबारदेखि घरबाट हिँडेका उनको खोजी गरने क्रममा उक्त गोपीखोलाको किनारमा शव फेला परेको हो । यता बैतडी, दोगडाकेदार गाउँपालिका-८ कालागाउँस्थित कट्टेलधारमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव जोशीको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शनिबार शव फेला परेको छ ।
त्यसैगरी पाल्पा, रम्भा गाउँपालिका-४ धामखोलास्थित जंगलको खोल्सामा सोही ठाउँ बस्ने ६३ वर्षीय याम बहादुर सूर्यवंशी शनिबार मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते घाँस काट्न जंगल गएका उनी घर नफर्केपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । उता म्याग्दी, धौलागिरी गाउँपालिका-४ नाउरा बस्ने २५ वर्षीय महेन्द्र दर्जी सोही ठाउँस्थित नाउरादेखि दरबाङ जाने बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता काठमाडौं, काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित जिर्ण गाडीभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-१६ जलाद खोलामा सोही उपमहानगरपालिका- १६ बस्ने भारत घर भएका २२ वर्षीय इमरान हुसेन शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

