नवकान्तिपुर संवाददाता
काठमाडौं, १० बैशाख ।
चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार रहेका छन् ।
तर रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मत हाल्ने पाउने छैनन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मत हाल्न नपाउने भएका हुन् । यता कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् ।
गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहनुभएका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।