नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ बैशाख ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । आज (शुक्रबार) प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पद तथा गोपनियताको शपथ गराएका हुन् ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यस्तै आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
जसमा बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रकी सुशीला सिम्खडा र कांग्रेसकै सरस्वती अर्याल रहेका छन् । उनीहरुलाई प्रदेश प्रमुख प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय तोकिएको छैन । मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिट्टै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा कांग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन् । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा–२ (२) बाट निर्वाचित भएका थिए ।