विष्णु शीतल
वाशिंगटन डिसी, २० बैशाख ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल ईन्जाले संसारभरी छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिब्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना व्यक्त गर्ने क्रममा संयुक्त राष्ट्रसंघ अन्तर्गत युनेस्को र विश्व प्रेस जगतसँग ऐक्यबद्धता जनाएको छ ।
अभिव्यक्ति स्वतन्त्रता मानवाधिकारको मुख्य अंश भएकाले यो स्वतन्त्रताको रक्षाका लागि युनेस्कोले मे २ देखि ५ तारिकसम्म न्यूयोर्कमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाई रहेको छ । यसै अवसरमा युनेस्कोसँग ऐक्यबद्धता जनाउदै ईन्जाले प्रेस नोट जारी गरेको हो ।
जारी नोटमा ईन्जाले भनेको छ (विश्वमा सरकारहरु प्रेस जगतप्रति अनुदार हुँदा एकातिर जनताको सूचना पाउने मौलिक हक कुन्ठित भैरहेको छ भने अर्कोतिर चौथो अंगको रुपमा रहेको संचारले निर्वाधरुपमा अभिब्यक्ति स्वतन्त्रतामार्फत समाजलाई योगदान दिन नसकेको हुँदा यतातर्फ ईन्जा विश्वका सरकारहरुको ध्यानाकर्षण गर्दछ ।
युनेस्कोले आयोजना गरेको ४ दिवसीय कार्यक्रममा संसार भरिका पत्रकारहरु, संचार सम्बन्धी संस्थाहरु, अभियन्ताहरु साथै सरकारी प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ । ईन्जाले यस कार्यक्रमको सफलताको शुभकामना पनि ब्यक्त गरेको छ । संचार जगतको स्वतन्त्रता, पत्रकारमाथिको आक्रमण विरोधी गतिविधिहरु र मिडियाको भविष्यबारे युनेस्को र संसारका संचार सम्बद्ध संस्थाहरुले चलाउने अभियानहरुमा ईन्जाले ऐक्यबद्धता जनाएको हो।
नेपाली संचार क्षेत्रमा कार्यरत संचारकर्मीको पेशागत हितमा काम गर्न हातेमालो गर्दै विश्व भर रहेका नेपाली मूलका संचारकर्मीबीच संजाल निर्माण गरिरहेको ईन्जा अमेरिकी कानुन अनुरुप स्थापना भइ काम गरिरहेको छ । आजको प्रेस स्वतन्त्रता दिवसको अवसरमा ईन्जाले पेशागत कामको शिलसिलामा युक्रेन लगायत संसारभरि विभिन्न ठाउँमा भएका द्वन्दहरुमा अनाहकमा मारिएका रिपोर्टरहरु र अन्य विविध कारणले मारिएका संचारकर्मीप्रति हार्दिक श्रद्धान्जली पनि ब्यक्त गरेको छ । साथै पत्रकारहरुको सुरक्षामा ध्यान दिन सरोकारवालाहरुलाई कडा अनुरोध पनि गरेको छ ।
सँगसँगै संचार जगतलाई पनि समाजमा मर्यादित र जिम्मेदार भएर भूमिका निर्वाह गर्न इन्जाले आग्रह गरेको छ ।