नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ बैशाख ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आज (बिहीबार) बिहान रायमाझीलाई भैरहवाबाट पक्राउ परेका हुन् ।
उनी बिहीबार बिहान भैरहवाबाट पक्राउ परेका प्रहरी स्रोतले बताएको छ । उनलाई आजै काठमाडौँ ल्याउने तयारी छ । तर रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
त्यस्तै उनका छोरा सन्दीप रायमाझी भने बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । यसअघि बुधबार नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट बुधबार उनीहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।
यता नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नन रहेको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गरिएपछि सांसद टोपबहादुर रायमाझीले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।