सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा नजाने निर्णय गरेको छ ।  शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि भएको पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए । ‘हामीले जनभावना र जनमतको कदर गर्नुपर्ने हुन्छ, यस पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु भन्ने थियो, अब त्यही अनुरुप अगाडि बढ्छौँ’ लामिछानेले भने ।



तपाईंहरू सरकार बनाउने/भत्काउने खेलमा लाग्नु हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘गठबन्धन बनाउँदै, अस्थिर बनाउँदै हामी हिँड्दैनौँ, सरकारले बाटो बिराएको खण्डमा एउटा राजनीतिक दलले अवश्य पनि कदम चाल्छ, तर सरकार बनाउने र ढाल्नेभन्दा पनि रचनात्मक प्रतिपक्षको रूपमा प्रस्तुत गर्नेमा हाम्रो ध्यान केन्द्रित हुन्छ ।’

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ । यसअघि रास्वपा सरकारबाट बाहिरिए पनि सरकारलाई समर्थन भने गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा ल्याउन पहल गर्दै आएपनि सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डा हटाएको तथा कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको लामिछानेले बताए  ।

सम्बन्धित समाचार