नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ बैशाख ।
नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो रहेको आरोप लागेपछि प्रहरीको खोजी सूचीमा रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।
मंगलबार दिउँसो नेपाल प्रहरीको विशेष टोलीले ललितपुर खुमलटार क्षेत्रमा रहेको रायमाझीको घरमा प्रहरीको विशेष टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा काठमाडौँबाट गएको टोलीले उहाँको घरमा छापा मारेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । नेकपा (एमाले)का सचिव र पूर्व उपप्रधानमन्त्री रायमाझीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ।
रायमाझीलाई एक साताअघि नै प्रहरीले पक्राउ पुर्जीको अनुमति लिएर खोजी गरिरहेको छ । त्यसपछि रायमाझी सम्पर्कमा नभएकाले खोजी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त प्रकरणमा रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईलगायत आठ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रहरीमा शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर एक सय छ जनाले कूल रु २३ करोड २५ लाख ठगी भएको भन्दै २० वटा जाहेरी दिएका छन् ।