नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणका स्वकीय सचिव केसी पक्राउ

नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । आज (बुधबार)केसीलाई प्रहरीले जडिबुटीबाट पक्राउ गरेको हो ।

यअघि आजै बिहान नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उनकै निवास मैजुबहालबाट पक्राउ गरेको थियो । योसँगै उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।



त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।

यो पनि पढ्नुस :

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ, अनुसन्धानका लागि प्रहरी परिसर लगियो

सम्बन्धित समाचार