नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा राजस्थानको यो चौथो जित हो भने कोलकत्ताको सातौं हार। कोलकत्ताको घरेलु मैदान ईडन ग्राडेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनायो । कोलकत्ताका लागि वेंकटेस अय्यरले ५७ रनको अर्धशतकीय परी खेले भने कप्तान नितिश राणाले २२ रन बनाए ।
त्यस्तै रमिउल्लाह गुर्वाजले १८ रन बनाई आउट भए भने रिंकु सिंहले १३ रन जोड्दा जेसन रोयले १० रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहलले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिँदा सन्दीप शर्मा र केएम आसिफको भागमा समान १-१ विकेट रह्यो । १५० रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले १३ दशमलब १ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो ।
राजस्थानका लागि यशस्वी जैसवालले अविजित रहँदै ९८ रनको अर्धशतकीय पारी खेले भने कप्तान सन्जु सामसन ४८ रनमा अविजित रहे । छैटौं जित हात पारेको राजस्थान १२ खेलमा ६ जित र ६ हारसहित १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा ५ खेलमा जित र ७ खेलमा हारसहित १० अंक जोडेको कोलकत्ता सातौं स्थानमा झरेको छ ।