नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ जेठ ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार) कोशी प्रदेशमा सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका लगायत पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।