नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ जेठ ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।
धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । पन्जाबका लागि साम करन ४९ र शाहरुख खान ४१ रनमा अविजित रहे भने जितेश शर्माले ४४ रन बनाए । त्यस्तै कप्तान शिखर धवन १७ रन बनाई आउट भए भने अथर्व ताइडेले १९ रन जोड़े ।
राजस्थानका लागि नवदिप सैनीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र एडम जाम्पाको भागमा समान १-१ विकेट रह्यो । १८८ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।राजस्थानको लागि देवदत्त पडिकलले ५१ र यशस्वी जैसवाल ५० रन्को अर्धशतकीय पारी खेले । यी दुईले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।
यस्तै सिमरन हिटमायर ४६ रन जोड्दा रियान परागले २० र धुव्र जुरेल १० रनमा अविजित रहे । पन्जाबका लागि कागिसो रबाडाले २ विकेट लिए भने राहुल चहर, साम करन, नाथन एलिस र अर्शदिप सिंहको भागमा समान १-१ विकेट रह्यो ।
सातौ जित हात पारेको राजस्थान १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक जोड्दै पाँचौ स्थानमा रहँदै प्लेअफ प्रवेशको सम्भावना कायमै रहेको छ भने समान खेलबाट ६ जित र ८ हार सहित १२ अंक जोडेको पन्जाब प्रतियोगिताबाट बाहिरिएको छ ।