नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ जेठ ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश तथा मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनु साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।