नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ जेठ ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) को फाइनलमा गुजरात टाईटन्स प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा गुजरतले मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदान अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३३ रन बनाएको थियो । गुजरातका लागि ओपनर शुभमन गिलले १२९ रनको शतकीय पारी खेले भने साई सुदर्शन ४३ रन बनाउँदै रिटायर्ड आउट भए ।
त्यस्तै ऋद्धिमान शाहले १८ रन बनाई आउट भए भने कप्तान हार्दिक पान्ड्या २८ र राशिद खान ५ रनमा अविजित रहँदाए । मुम्बईका लागि पीयुष चावला र आकाश मधवालले समान १-१ विकेट लिए । २३४ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १८ दशमलब २ ओभरमा अलआउट हुँदै १७१ रनमा समेटियो ।
मुम्बईका लागि सुर्यकुमार यादवले ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै तिलक बर्मा ४३ र क्यामरन ग्रीनले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहारो अंकमा रन जोड्न सकेनन् ।
गुजरातका लागि मोहित शर्माले ५ विकेट लिए भने मोहम्मद सामी र राशिद खानले समान २-२ विकेट लिँदा जोशुवा लिटिलको भागमा १ विकेट रह्यो । गुजरात लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । अब उपाधिको लागि गुजरातले आइतबार चेन्नाई सुपर किंग्ससँग भिड्नेछ ।