आईपीएलको उपाधि चेन्नाईलाई, गुजरात ५ विकेटले पराजित   

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । सोमबार राति भएको फाइनल खेलमा चेन्नाईले गुजरात टाइटन्सलाई डकवर्थ लेविस मेथडमा पाँच विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको हो ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै  २१४ रन बनाएको थियो ।  गुजरातका लागि साई शुदर्शनले ९६ र ऋद्धिमान शाहले ५४ रनको अर्धशतकीय पारी खेले भने शुभमन गिलले ३९ रन जोड्दा कप्तान हार्दिक पान्ड्या २१ रनमा अविजित रहे । चेन्नईका लागि मथिशा पथिरानाले २ विकेट लिए भने दीपक चहर र रविन्द्र जडेजाको भागमा समान १-१ विकेट रह्यो ।



२१५ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नाईले ब्याटिङ सुरु गरेपनि पहिलो ओभरमा नै भारी वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा रोकिएपछि खेल १५ ओभरमा झारियो र चेन्नाईले जितको लागि १७१ रनको नयाँ लक्ष्य दिइएको थियो । १७१ रनको लक्ष्य चेन्नाईले निर्धारित १५ ओभरको अन्तिम बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका लागि डेभोन कन्वेले ४७ रन बनाए भने शिबम दुबे ३२ रनमा अविजित रहे ।

यस्तै ऋतुराज गायकवाड २६ रन बनाई आउट भए भने अजिंक्या रहाणेले २७ रन जोड्दा रविन्द्र जडेजा १५ रनमा अविजित रहे । गुजरातका लागि मोहित शर्माले ३ विकेट लिए भने नूर अहमदको भागमा २ विकेट रह्यो । जितसँगै चेन्नाईले पाँचौं पटक आईपीएलको उपाधि जितेको छ । चेन्नाईले मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधि जितेर बनाएको कीर्तिमान बराबरी गरेको छ । चेन्नाईले यसअघि २०१०,२०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो ।

 

सम्बन्धित समाचार