नेपाल मलेसियासँग ४ विकेटले पराजित 

मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गतको चौथो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको हो ।  नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाईन् भने बिन्दु रावलले २४ रन जोडिन् ।



त्यस्तै कविता जोशी १२ रन बनाएर अविजित रहनु बहेल अन्यले दोस्रो अंक जोड्न सकेनन् । मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ३ विकेट लिँदा एसा इलिसा र महिराह इज्जाती इस्माइलको भागमा समान १-१ विकेट रह्यो ।

९७ रनको लक्ष्य लिएर मैदान उत्रेको मलेसियाले २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो । मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ३८ रन बनाईन् भने महिराह इज्जाती इस्माइलले १६ रन बनाउँदा कप्तान मास इल्साले १३ रन जोडिन् । नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान १-१ विकेट लिए ।

शनिबारको खेलसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २-२ को बराबरी भएको छ । पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली मलेसिया नेपालसंग ७ विकेटले र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो । अब नेपाल र मलेसियाबीचको अन्तिम तथा निर्णायक खेल  भोलि (आइतबार) हुनेछ  ।

सम्बन्धित समाचार