मलेसियाविरुद्धको टी-२० सिरिज नेपाललाई 

नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-२० महिला सिरिजको उपाधि जितेको छ । आइतबार भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले पाँच खेलको सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो ।

मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो । मलेसियाका लागि वान जुलियाले ४७ रन बनाइन् भने विनिफ्रेड दुराईसिङ्घमले २४ रन जोडिन् । त्यस्तै महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन् । नेपालका लागि कविता जोशीले २ विकेट लिँदा ईश्वरी विष्टको भागमा १ विकेट रह्यो  ।



११० रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३४ रनको योगदान दिइन् भने कप्तान रुविना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । यस्तै अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डेले ११ रन जोडिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन् ।

पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली मलेसिया नेपालसंग ७ विकेटले र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो । त्यसैगरी चौथो खेलमा मलेसियाले नेपाललाई ६ विकेटले हराएको थियो ।

सम्बन्धित समाचार