नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ जेठ ।
आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका जाने बाटो खुलेको छ । बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा रहेको पेशी असार २९ गते सम्मको लागि स्थगित भएसँगै उनको दक्षिण अफ्रिका जाने बाटो खुलेको हो ।
सन्दीप आज (सोमबार) दक्षिण अफ्रिका जाँदै छन् । जिल्ला अदालत काठमाडौँले बलत्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीपलाई ‘अपबाद’का रुपमा लामो समय तारिख स्थगित गरेको हो । अब सन्दीप र प्रशिक्षक मोन्टी आज राति २ बजेको फ्लाइटमार्फत दक्षिण अफ्रिका जाँदै छन् । भिसा समस्याका कारण देशाई गत मंगलबार टिमसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन् ।
विश्वकप छनोटको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकामा रहेको छ । नेपाली टिमले दक्षिण अफ्रिकामा रहँदा स्थानीय टिमहरुसँग चारवटा अभ्यास खेल खेल्नेछ । नेपाली टिम उतैबाट जिम्बावे प्रस्थान गर्नेछ । नेपालले जिम्बावेमा जेठ २५ मा स्कटल्यान्डसँग र जेठ २७ मा नेदरल्यान्ड्ससँग दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
विश्वकप छनोट खेल्नुअघि नेपालले जिम्बावेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग वार्मअप खेल खेल्नेछ ।नेपालले पहिलो खेलमा असार ३ गते टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बावेको सामना गर्नेछ भने दोस्रो खेलमा ५ असारमा अमेरिका, तेस्रो खेलमा ७ असारमा वेष्ट इण्डिज र अन्तिम खेल ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।