नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।
टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । मंगलबार सर्वोच्चले चौधरीलाई आममाफी दिएको प्रकरणमा यस्तो आदेश दिएको हो ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको छ ।
कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गर्दै दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए ।
उक्त आममाफी दिने निर्णयविरुद्ध टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो । थरूहटको आन्दोनका क्रममा २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।