सवारी दुर्घटनामा आठ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । महोत्तरी, बर्दिबास नगरपालिका-२ बुद्ध चोकस्थित सडकमा ज.४ प २३५१ नम्बरको मोटरसाइकल ज.१ त १७४३ नम्बरको ट्याक्टरमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक औरही नगरपालिका-२ बस्ने ६० वर्षीय ताहिर अंसारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै तनहुँ, आबुखैरेनी गाउँपालिका-५ रसौलीस्थित सडकमा ग.३ क ३९७४ नम्बरको स्काईभेटर सडकदेखि करिब १५ सय मिटर तल खोचमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा स्काइभेटरका सहचालक सल्यान बस्ने २५ वर्षीय खेमराज चलाउनेको घटनास्थलमै मृत्यु भएको छ ।



हाल फरार स्काईभेटर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै मोरङ, बेलबारी नगरपालिका-३ स्थित वन कार्यालय नजिक सडकमा ना.४ ख ६१३८ नम्बरको टयाङ्करको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता कालीकोट, शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पान्तडी सडकमा लु.१ च ८४९८ नम्बरको जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ भर्ता बस्ने ३० वर्षीय हर्के कामी सहित ३ जनाको मृत्यु भएको छ ।

उता रुपन्देही, तिलोत्तमा नगरपालिका-३ शान्तिकुन्जस्थित सडकमा बा. २० च १४३८ नम्बरको स्कारपियो अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक अर्घाखाँची छत्रदेव गाउँपालिका- ८ बस्ने ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी धादिङ, धुनिवेशी नगरपालिका-९ सिक्रखोलास्थित सडकमा बा.५४ प ३२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक धुनिवेशी नगरपालिका-९ खत्रीपौवा बस्ने ३५ वर्षीय ज्ञान बहादुर लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल काठमाडौंतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार