नवकान्तिपुर संवाददाता
काठमाडौं, जेठ २९ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका ६६ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मुस्ताङ, मुक्तिक्षेत्र गाउँपालिका-१ खिङ्गास्थित कुलोमा बागलुङ गल्कोट नगरपालिका-३ बोहोराफाँट बस्ने ३३ वर्षीय गोरख बहादुर बोहरा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, घोडाघोडी नगरपालिका-८ दिपनगर बस्ने ४६ वर्षीया कृष्णा देवी चौधरी आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिम बस्ने ३६ वर्षीय टंक प्रसाद राई आफ्नै घरदेखि करिब २५ मिटर टाढा बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता धनुषा, मिथिला बिहारी नगरपालिका-८ पर्ती टोलस्थित पोखरीको छेउमा सोही ठाउँ बस्ने ४५ वर्षीया उषा दास आइतबार मृत अवस्थामा फेला परेकी छिन् । उक्त स्थानमा गाडेको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तारापट्टी, इलाका प्रहरी कार्यालय धनुषाधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले मृतकको छोरा र बुहारीलाई सोधपुछ तथा आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यता लमजुङ, बेसिशहर नगरपालिका-२ चिसापानी गैरी गाउँमा सोही नगरपालिका नरवाल बस्ने ५० वर्षीय कालु सुनार आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सिरहा, सिरहा नगरपालिका-१४ खिरौना बस्ने १८ वर्षीया अंजली केवट भण्डारी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी तेह्रथुम, आठराई गाउँपालिका-४ ईवा ढोडेस्थित तमोर खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धादिङ, निलकण्ठ नगरपालिका-११ थापागाँउस्थित मौवा खोलामा हाल नाम, थर, वतन, उमेर नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उता चितवन, राप्ती नगरपालिका-९ अमृतपानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै इलाम, रोङ गाउँपालिका-३ कुटिडांडास्थित पाथिभरा देबिस्थान सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।