नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।
करिब १०५ वर्षअघि प्रथम विश्वयुद्धमा मारिएका तर हालै मात्र पहिचान भएका तीन जना क्यानडाली सैनिकको अवशेष फ्रान्समा सैन्य भावनाले भरिएको समारोहबीच पुन: गाडिएको छ ।
यस युद्धमा लाखौं सैनिकको मृत्यु भएको थियो तर अहिलेसम्म उत्तरी फ्रान्सको खेतबारीमा रहेका केही सैनिकको मात्र पहिचान भएको छ ।
हालका वर्षहरूमा उत्तरी फ्रान्समा धेरै भन्दा धेरै प्रथम विश्वयुद्ध सैनिकहरूको अवशेषहरू फेला परेका छन् । यसका लागि प्रमुख पूर्वाधार परियोजनाहरू र मृतकहरूको आफन्तसँग समन्वय गर्ने निकायहरूको उत्कृष्ट सङ्गठनप्रति आधार प्रकट गर्नुपर्छ ।
युद्धमा ३२ वर्षको उमेरमा मृत्यु भएका आफ्ना काका सर्जेन्ट रिचर्ड मुसग्रेभका ७७ वर्षीय गोर्डन गिलफेथरले भने ,’हामीलाई थाहा थियो उहाँ फ्रान्समा मारिनुभएको थियो र उहाँलाई भिमी मेमोरियलमा सम्मान गरिएको थियो । तर याद गर्नुको विकल्प के नै छ ? केबल सम्झना गर्नु र उनीहरूप्रति सद्धभाव दर्शाउनु हाम्रो दायित्व हुनेछ ।’
नजिकैको अरसको उत्तरमा रहेको भिमी मेमोरियलमा प्रथम विश्वयुद्धमा फ्रान्समा ज्यान गुमाएका ११ हजार २८५ क्यानेडियाली नागरिकको नाम अङ्कित गरिएको छ । उत्तरपूर्वी शहर लिले नजिकै लुस–एन–गोहेलस्थित बेलायती चिहानमा बिहीबार आयोजित समारोहमा गिलफेथरले भने, ‘यो निकै भावनात्मक दिन हो ।’
अर्का नातिनी ८३ वर्षीय जेम्स मुसग्रेभ कोल्टम्यानले समारोहबारे भनिन् , ‘यो अचम्मको विचार हुनसक्छ तर म (मृतक सैनिक) उहाँको बहिनी, जो हाम्रो हजुरआमा हुनुहुन्थ्यो, केबल यो हेर्न यहाँ उपस्थित भएको र मेरो हजुरबाप्रतिको सम्मान व्यक्त भएको हेर्न चाहन्थें । किनकी उहाँले आफ्नो दाजुलाई अनाहकमा मारिएकोमा निकै पश्चाताप गर्नुहुन्थ्यो ।’
मुसग्रेभको शव सन् २०१७ मा लेन्स नजिकै फेला परेको थियो र उनीसँँग भेटिएका २४ वर्षीय ह्यारी आथर्टन र २३ वर्षीय पर्सी हावर्थसँगै बेलायती चिहानमा पुनः गाडिएको थियो ।
तीनै जना बेलायतमा जन्मिएका थिए र क्यानडामा बसाइँ सरेका थिए र युरोपमा भर्ती भएर युद्ध गर्न फर्केका थिए ।
छ लाख अझै वेपत्ता
१९१७ को अगस्टमा हिल–७० को युद्धको पहिलो दिन १० हजारभन्दा बढी क्यानेडियालीहरू लेन्सको रणनीतिक खानीहरूको शहरलाई पुनः कब्जा गर्ने प्रयासमा मारिएका थिए वा घाइते भएका थिए ।
प्रथम विश्वयुद्धको समयमा उत्तरी फ्रान्समा हराएका छ लाख सैनिकहरूमध्ये हरेक छ जनामा एक भूतपूर्व बेलायती साम्राज्यका थिए । युद्धका समय मारिएका र गाडिएका सैनिकको अवशेष धेरै वर्षसम्म पेरिस र बेल्जियमको सिमानाको बीचमा ििनरन्तर फेला पर्थे तर कुनै सोच र विचार बिना नै चुपचाप हटाइन्थ्यो ।
अरासस्थित पुरातत्व विभागका प्रमुख एलेन ज्याक्सले भने, ‘जब पहिलो ठूला पूर्वाधार परियोजनाहरू निर्माण गरिएको थियो, त्यहाँ उत्खननको लागि आधिकारिक प्रक्रिया थिएन । परियोजनाहरूको कामले बाधा पुर्यायो भने आफुहरूको काम रोकिने झण्झटका कारण स्थानीय ‘रियल इस्टेट’का जन्मदाताहरू र किसानहरू उनीहरूले फेला पारेका शवहरूबारे उल्लेख गर्न हिचकिचाउँथे ।’
ज्याक्सले भने, ‘त्यसयता निर्माण स्थलहरूमा व्यवस्थित रूपमा विस्फोटक पदार्थ र अवशेष सफा गर्ने अधिकारीहरूलाई बोलाउँछन् ।’ सेनाका रूपमा गरिने जिम्मेवार सेवाहरू अधिक उत्तरदायी हुने हुनाले पूर्व सैनिकहरूलाई प्रायः यी अवशेषहरूले छुन्छन् । किनकि उनीहरूसँग युद्धको साथै र राष्ट्रभक्तिको भावना जोडिएको छ ।
कमनवेल्थ वार ग्रेभ्स कमिसन (सीडब्ल्यूजीसी) ले राष्ट्रमण्डल सैनिकहरूको अवशेष पहिचान गर्न राष्ट्रिय अधिकारीहरूलाई सहयोग गर्दछ ।
सन् २०२१ देखि उत्तरी फ्रान्समा दुई जना मानवशास्त्रीहरू मानव अवशेष र तिनीहरूलाई पहिचान गर्न रेजिमेन्ट बिल्ला र रोजगारदाताको सङ्केत गर्ने शुरूवाती अक्षरहरू भएका व्यक्तिगत वस्तुहरू सङ्कलन गर्न मद्दत गर्न सक्ने सहयोगी तैनाथ छन् ।
‘हामीले निर्माण उद्योग, खानी सफा गर्ने र प्रहरीलाई समावेश गरेर एक सञ्जाल निर्माण गरेका छौं, त्यसैले रोचक खोजहरू आउँदा हामीलाई सूचित गरिन्छ,’ सीडब्ल्यूजीसीको रिकभरी युनिटका प्रमुख स्टेफन नाजीले भने ।
प्रत्येक वर्ष, यो सेवाले खेत वा हावाबाट बिजुली निकाल्न प्रयोग गरिएका ठूलाठूला ‘विन्डफार्म’ जस्ता निर्माण स्थलहरूमा फेला परेका ४० देखि ६० वटा शवहरू ह्यान्डल गर्दछ ।
महत्वपूर्ण अवसर
हाल पहिचान भइरहेका मध्ये धेरै अवशेष लेन्सको नयाँ अस्पतालस्थलमा फेला परेका थिए । पेरिसको उत्तरमा रहेको कम्पिग्नेदेखि बेल्जियमको सीमा नजिकको क्याम्ब्राई जोड्ने सेन–नोर्ड नहर खन्ने क्रममा दशौं, सम्भवतः सयौं अन्य लाई उत्खनन गर्न सकिन्छ ।
यसको १०७ किलोमिटर (६६–माइल) लम्बाइको लागि, नहरले पहिलो विश्वयुद्धको अग्रपङ्तीलाई पछ्याउँछ । ‘अहिले पनि एक लाख सैनिक पहिचानविना नै फ्रान्सको युद्धभूमिमुनि गाडिएको अवस्थामा छन्,’ सीडब्ल्यूजीसीका महानिर्देशक क्लेयर होर्टनले मे ४ मा कमनवेल्थ पीडितहरूको बारेमा भने ।
होर्टनले थपे, ‘उनीहरूका प्रियजनहरूको कुनै ठेगाना छैन, तिनीहरूलाई एक लाख परिवारहरूसँग यथाअवस्थामा पुनः मिलन गराउन हामी काम गर्नेछौं ।’ होर्टनले अस्पताल र नहरको निर्माणले ‘अवसरको छोटो तर महत्वपूर्ण ढोका’ को प्रतिनिधित्व गरेको बताए ।
‘बीस देखि तीस हजार मानिसहरू यो सानो पाँच किलोमिटर क्षेत्रभित्र मरेका थिए,’ उनले भने । अस्पतालस्थलमा ‘हरेक पटक जब उनीहरूले जमीनमा खन्ने काम गर्छन्, उनीहरूले कसैलाई भेट्टाउँछन् ।’
बेलायती कब्रिस्तानको छेउमा लुस–एन–गोहेलमा १२ हजार चिहानहरूको लागि ठाउँ तयार भइरहेको छ ।
गिलफेथरले भने, ‘तिनीहरू कहिल्यै बिर्सन सकिँदैनन् । उनीहरूले हामीलाई शान्तिपूर्वक बाँच्नका लागि आफ्नो जीवन बलिदान गरे । एकसय वर्ष बितिसक्दा पनि हामीले यो बिर्सन सक्दैनौं ।’रासस/एएफपी