नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ जेठ ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.५ ख ३४३७ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६ प २१२१ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखा शैलुङ्ग गाउँपालिका-२ घर भई काठमाडौं कोटेश्वर बस्ने ३० वर्षीय झनक थापा मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रूपन्देही, तिलोत्तमा नगरपालिका-६ स्थित १२ नम्बर नजिक भित्री सडकमा लु.१० प ४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानरपालिका-१८ पोखरावारी बस्ने २५ वर्षीय सोहन कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै अर्घाखाँची, भूमिकास्थान नगरपालिका-७ टिमुरे गैरास्थित सडकमा रा.४ त ४२९५ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक प्युठान ऐरावती गाउँपालिका-१ कोल्बोट बस्ने २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य २ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता कैलाली, धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नास्थित सडकमा से.७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय धनिराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।